रुकुम पूर्वमा नेकपाको आन्तरिक विवाद पुनः सतहमा

27 July, 2026 39 Views
रुकुम पूर्वमा नेकपाको आन्तरिक विवाद पुनः सतहमा
39

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र रुकुम पूर्वमा पार्टीभित्रको आन्तरिक विवाद फेरि चर्किएको छ ।

पार्टी केन्द्रले गरेको पछिल्लो निर्णयलाई लिएर जिल्ला तहका नेता तथा कार्यकर्ता विभाजित भएका छन् । जिल्ला इन्चार्ज र संयोजकको जिम्मेवारी पुरानै नेताहरूलाई दिइएपछि विवाद बढेको एक नेताले बताए ।

ती नेताका अनुसार शनिबार नेकपाका केन्द्रीय सदस्य पूर्ण घर्ती समूहले खाबाङ बगरमा छुट्टै भेला आयोजना गरेको थियो । जिल्ला समितिमा बहुमत जुटाउन नसकेपछि उक्त समूहले समानान्तर समिति गठनको प्रयास गरेको उनको दाबी छ ।

‘पार्टी एकतापछि इन्चार्ज तेजबहादुर ओली र संयोजक कुमारी बराललाई जिम्मेवारी दिइयो । पुरानै टिमलाई निरन्तरता दिइएपछि विवाद बढेको हो । यो स्थानीयस्तरको विवाद हो,’ ती नेताले भने ।

केन्द्रीय सदस्यहरू होमप्रकाश श्रेष्ठ ‘हिमाल’, जितमान पुन ‘मार्सल’, पुनिराज घर्ती ‘रामेश’ र रवि बुढा ‘निर्माण’ लगायतका नेताहरू पार्टीको पछिल्लो निर्णयप्रति असन्तुष्ट रहेको बताइएको छ ।

शनिबार भएको भेलामा सहभागी नेताहरूले पार्टी नेतृत्व र पछिल्ला निर्णयको आलोचना गरेका थिए । उक्त समूहले जिल्ला कमिटी बैठक बहिष्कार गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

यता, संस्थापन पक्षले जिल्ला कमिटी बैठकमा सहभागी नभए कारबाही गर्ने चेतावनी दिएको बुझिएको छ । पार्टीभित्रको विवादबारे सम्बन्धित पक्षको औपचारिक धारणा भने सार्वजनिक भएको छैन ।

Related Post