रिलायन्स स्पिनिङ मिल्सले सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश दिने

09 October, 2026 121 Views
रिलायन्स स्पिनिङ मिल्सले सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश दिने
121

 

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

बिहीबार काठमाडौंमा सम्पन्न कम्पनीको साधारणसभाले सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित गरेको हो। कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ५७ करोड रुपैयाँ लाभांश वितरण गरिनेछ। उक्त रकममा प्रचलित कानुनअनुसार लाग्ने करसमेत समावेश छ।

साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन र लेखापरीक्षण गरिएको वित्तीय विवरणसमेत पारित गरेको छ।

सभाले कम्पनीको व्यवसाय विस्तार गर्ने योजनालाई पनि स्वीकृति दिएको छ। संशोधित प्रबन्धपत्रअनुसार कम्पनीले अल्लो, हेम्प र केरालगायत प्राकृतिक फाइबरबाट धागो उत्पादन गर्ने, कपडा तथा गार्मेन्ट उत्पादन गर्ने र फाइबर, धागो तथा कपडाको रङ्गाई गर्ने योजना अघि बढाउनेछ।

कम्पनीले आधुनिक प्रविधिको प्रयोगमार्फत प्राकृतिक स्रोतमा आधारित उत्पादन विस्तार गर्दै व्यवसाय विविधीकरण गर्ने लक्ष्य लिएको छ।

साधारणसभाले सञ्चालक समितिको संरचनामा परिवर्तन गर्दै छ सदस्यीय समिति बनाउने व्यवस्था पनि पारित गरेको छ। संस्थापक सेयरधनी समूहबाट पवन कुमार गोल्याण, शशीकान्त अग्रवाल, अक्षय गोल्याण र किरण देवी अग्रवाल सञ्चालकमा सर्वसम्मत निर्वाचित भएका छन्।

त्यस्तै, सर्वसाधारण सेयरधनी समूहबाट बसन्त नाहटा निर्विरोध निर्वाचित भएका छन् भने स्वतन्त्र सञ्चालकमा वरिष्ठ अधिवक्ता हरिश्चन्द्र सुवेदीको नियुक्ति अनुमोदन गरिएको छ।

Related Post