राप्रपा महामन्त्री शरदराज पाठकले छाडे पार्टी

राप्रपा महामन्त्री शरदराज पाठकले छाडे पार्टी
17

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीका सबै जिम्मेवारीबाट अलग हुँदै पार्टी परित्याग गरेका छन्।

पाठकले आइतबार विज्ञप्ति जारी गर्दै महामन्त्रीसहित पार्टीमा आफूले सम्हाल्दै आएका सबै जिम्मेवारीबाट आजकै मितिदेखि अलग भएको घोषणा गरेका हुन्।

पार्टी परित्यागको कारणबारे उनले राप्रपाको केन्द्रीय नेतृत्वमा लामो समयदेखि आन्तरिक असमझदारी, गुटगत स्वार्थ र तिक्तता बढ्दै गएको उल्लेख गरेका छन्।

भ्रष्टाचारविरुद्ध कडा धारणा राख्ने पार्टीभित्रै व्यवहारमा पारदर्शिता र प्रतिबद्धताको अभाव देखिएको उनको आरोप छ। यस्ता कारणले नयाँ पुस्ताका इमानदार, शिक्षित र सचेत युवालाई पार्टीमा आकर्षित गर्न कठिन भइरहेको उनले बताएका छन्।

आफूलगायत पछिल्लो समय पार्टीमा जोडिएका नेताहरूले पनि विद्यमान परिस्थितिमा अपेक्षित परिवर्तन ल्याउन सक्ने सम्भावना नदेखेको पाठकले उल्लेख गरेका छन्।

यद्यपि, पार्टीको तल्लो तहमा रहेका नेता तथा कार्यकर्ताको निष्ठा र प्रतिबद्धताको भने उनले प्रशंसा गरेका छन्।

पाठक रविन्द्र मिश्रसँगै विवेकशील साझा पार्टीबाट राप्रपामा प्रवेश गरेका थिए।

Related Post