कात्तिक,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र त्यसबाट फुटेर बनेको राप्रपा नेपालबीच एकताको पहल सुरु भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापा आज वार्तामा बसेका छन् । धुम्वाराहीको एक होटलमा नेताद्वयबीच वान टु वान छलफल भएको हो । दुई पार्टीबीच सहकार्य र एकताकै विषयमा कुराकानी भइरहेको स्रोतले बताएको छ ।
राप्रपा अध्यक्ष थापा एकताका लागि इच्छुक छन् भने लिङदेन पनि सकारात्मक रहेको बुझिएको छ । थापाले आफू लिङ्देनलाई नै अध्यक्ष स्वीकार्न सक्ने संकेत गरेपछि एकताको वातावरण बनेको स्रोतले बतायो ।
एक साताअघि राप्रपा नेपालले औपचारिक रूपमा राप्रपासँग एकताको प्रस्ताव गरेको थियो । समान बिचार भएका राजनीति दल र शक्तिहरूसँग सहकार्य र एकता गर्नको लागि राप्रपा नेपालद्वारा वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा गठित वार्ता समितिले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटेर प्रस्ताव गरेको हो ।