२ रुपैयाँका ३० करोड सिक्का छाप्न राष्ट्र बैंकले खोल्यो ग्लोबल टेन्डर

05 October, 2026 106 Views
२ रुपैयाँका ३० करोड सिक्का छाप्न राष्ट्र बैंकले खोल्यो ग्लोबल टेन्डर
106

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चलनचल्तीका सिक्का निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट्र बैंकले सिक्काको डिजाइन, छपाइ (मिन्टिङ) तथा ढुवानीका लागि अन्तर्राष्ट्रिय सेक्युरिटी मिन्टिङ कम्पनीहरूबाट बोलपत्र माग गरेको हो।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले यसअघि पूर्व–योग्य (Pre-qualified) ठहरिएका अन्तर्राष्ट्रिय कम्पनीहरूलाई लक्षित गर्दै शिलबन्दी बोलपत्र आह्वान गरेको जनाएको छ। यसका लागि ‘एकल चरण, दुई खाम’ (Single Stage Two Envelope) विधि अपनाइएको छ। उक्त प्रक्रियाअन्तर्गत प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै खाममा पेस गर्नुपर्नेछ।

राष्ट्र बैंकले २ रुपैयाँ दरका कुल ३० करोड अर्थात् ३०० मिलियन थान सिक्का निर्माण गर्न लागेको हो।

बोलपत्र खरिद गर्ने अन्तिम मिति सन् २०२६ नोभेम्बर ३ गते कार्यालय समयसम्म तोकिएको छ। बोलपत्रका लागि २० हजार रुपैयाँ दस्तुर तोकिएको छ। विदेशी मुद्रा प्रयोग गर्ने कम्पनीले १३१ अमेरिकी डलर वा ११५ युरो तिरेर बोलपत्र खरिद गर्न सक्नेछन्।

बोलपत्र प्रक्रियाअन्तर्गत सन् २०२६ अक्टोबर १६ गते दिउँसो १२ बजे मुद्रा व्यवस्थापन विभाग, थापाथलीमा प्रि–बिड बैठक आयोजना हुनेछ।

त्यस्तै, बोलपत्र पेस गर्ने अन्तिम मिति सन् २०२६ नोभेम्बर ४ गते दिउँसो १२ बजेसम्म तोकिएको छ। सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिने राष्ट्र बैंकले जनाएको छ।

बोलपत्रमा सहभागी हुने कम्पनीले कम्तीमा १ लाख ३२ हजार अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा अथवा नेपाली रुपैयाँबराबरको धरौटी रकम पेस गर्नुपर्नेछ। उक्त धरौटीको म्याद सन् २०२७ अप्रिल ३ गतेसम्म कायम हुनुपर्नेछ।

सार्वजनिक खरिद ऐन, २०६३ अनुसार कालोसूचीमा परेका व्यक्ति वा संस्था तथा त्यस्ता व्यक्ति वा संस्थाका सञ्चालक संलग्न रहेका कम्पनीले बोलपत्र प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

बोलपत्रसम्बन्धी थप जानकारी नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको राष्ट्र बैंकले जनाएको छ।

Related Post