रुसको भीषण मिसाइल र ड्रोन वर्षाले थर्कियो किभ: कम्तीमा २७ जनाको मृत्यु, ९० भन्दा बढी घाइते

03 July, 2026 231 Views
रुसको भीषण मिसाइल र ड्रोन वर्षाले थर्कियो किभ: कम्तीमा २७ जनाको मृत्यु, ९० भन्दा बढी घाइते
231
रुसी सेनाले युक्रेनको राजधानी किभमा यस वर्षकै सबैभन्दा घातक र भीषण हवाई आक्रमण गर्दा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ भने कम्तीमा ९१ जना घाइते भएका छन्। रुसले बिहीबार बिहानै किभलाई लक्षित गरी ७४ वटा मिसाइल र ९६ वटा आत्मघाती ड्रोनसहित सयौँ हवाई हतियारहरू प्रहार गरेको थियो।
आक्रमणका कारण पूर्वी डार्निट्स्की (Darnytskyi) जिल्लाको एक बहुतले आवासीय भवनको आधा हिस्सा पूर्ण रूपमा ध्वस्त भएको छ भने सहरभरिका करिब १३० वटा भवनहरूमा ठूलो क्षति पुगेको छ। मध्यरातभरि भएका शृङ्खलाबद्ध शक्तिशाली विस्फोटका कारण ५२ हजारभन्दा बढी स्थानीय बासिन्दाहरू ज्यान जोगाउन भूमिगत मेट्रो स्टेसन र बम सेल्टरहरूमा शरण लिन बाध्य भएका थिए।
राजधानीको सैन्य प्रशासनका प्रमुख तैमुर त्काचेन्कोका अनुसार भग्नावशेषमुनि फसेका मानिसहरूको खोजीका लागि उद्धार टोलीहरूले निरन्तर काम गरिरहेका छन्।युक्रेनी राष्ट्रपति वोलोडिमिर जेलेन्स्कीले आफ्ना पश्चिमी सहयोगी राष्ट्रहरूले समयमै प्रतिवद्धता अनुरूपको वायु रक्षा प्रणाली (Air Defense) उपलब्ध नगराउँदा यति ठूलो मानवीय क्षति ब्यहोर्नुपरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ। 
मस्कोले भने यो आक्रमण युक्रेनले रुसी इन्धन डिपोहरूमा चालेको ड्रोन हमलाको बदला भएको दाबी गरेको छ। यसैबीच, किभका मेयर विटाली क्लिट्स्कोले सहरमा शोक दिवसको घोषणा गर्नुभएको छ भने संयुक्त राष्ट्र सङ्घ (UN) ले नागरिक पूर्वाधारमाथिको यस आक्रमणको कडा शब्दमा निन्दा गरेको छ।
 

Related Post