काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीमा ९८७ जनाको शव फेला परेको र ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको अवस्थामा सांसदहरूले भदौ १० लाई राष्ट्रिय शोक दिवस घोषणा गर्न सरकारसँग माग गरेका छन् । राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसदहरूले बाढीबाट भएको ठूलो मानवीय क्षतिप्रति राष्ट्रिय रूपमा शोक व्यक्त गर्नुपर्ने बताएका हुन् ।
नेपाली कांग्रेसका सांसद युवराज शर्माले भदौ १० लाई राष्ट्रिय शोक दिवस घोषणा गर्न सरकारसँग आग्रह गरे । उनले विपद्को समयमा खोजी, उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकता दिनुपर्ने बताए ।
नेकपाकी सांसद मदन कुमारी शाह गरिमाले एक दिन राष्ट्रिय झण्डा झुकाएर शोक घोषणा गर्नुपर्ने माग गरिन् । जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले प्राकृतिक विपद्को ठूलो असर भोग्नुपरेको भन्दै उनले यस विषयलाई अन्तर्राष्ट्रियस्तरमा उठाउनुपर्ने बताइन् ।
यस्तै, नेकपाका सांसद सुरेशकुमार आलेमगरले विकसित तथा धनी मुलुकहरूले निम्त्याएको जलवायु परिवर्तन र भूमण्डलीय तापक्रम वृद्धिको असर नेपालजस्ता कमजोर अर्थतन्त्र भएका देशले भोग्नुपरेको चेतावनी दिए । उनले यस्ता विपद्का कारण र प्रभावबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने बताए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २७९ जना घाइते छन् भने ११ हजार ८१४ जनाको उद्धार गरिएको छ । उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको छ ।