रास्वपा भाँडभैलो : सभापतिले मार्गप्रशस्त गर्नुपर्ने पक्षमा अधिकांश नेताहरु

23 September, 2025 159 Views
रास्वपा भाँडभैलो : सभापतिले मार्गप्रशस्त गर्नुपर्ने पक्षमा अधिकांश नेताहरु
159

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति रवि लामिछानेको कारागार रिहाइ प्रकरणले गर्दा रास्वपा नेतृत्वमाथि विभिन्न प्रश्नहरू उठिरहेका छन् । जेनजी आन्दोलनबाट उत्पन्न नयाँ परिस्थितिबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति वैठक अहिले बसिरहेको छ ।  यो बैठकमा कम्तीमा ४ जना प्रदेश सभापतिहरूले रास्वपा सभापति रवि लामिछानेले मार्ग प्रशस्त गर्नुपर्ने प्रस्ताव राख्ने तयारी गरेको स्रोतले बताएको छ। रास्वपामा प्रदेश सभापतिहरू पदेन केन्द्रीय सदस्य हुने व्यवस्था छ । आजको केन्द्रीय समिति बैठकमा प्रदेशहरुबो राजनीतिक प्रस्ताव पेश गर्न भनिएको थियो । त्यसमा चारवटाले सभापतिले आफ्नो मुद्दाको कानूनी निरुपण नहुञ्जेलका लागि पद त्याग गर्न वा संरक्षणको भूमिकामा बस्न प्रस्ताव गर्न लागेका हुन् ।

स्रोतका अनुसार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका प्रदेश समिति सभापतिले मार्ग प्रशस्त गर्नुपर्ने पक्षमा छन् । कोशीका सभापति सरिन तामाङ, गण्डकीका राजन गौतम, लुम्बिनीका देवराज पाठक र सुदूरपश्चिमका प्रकाश विष्टले केन्द्रीय समिति बैठकमा यो प्रस्ताव गर्ने बुझिएको छ । बाँकी तीन सभापतिको भने लाइन क्लियर भएको छैन ।

रास्वपा बैठकमा सभापति लामिछानेको कारागार रिहाइ प्रकरणबारे पनि घनिभूत छलफल हुँदैछ । यो प्रकरणलाई लिएर पार्टीले आन्तरिकरुपमा छानबिन गर्नुपर्ने माग केही नेताहरूले उठाएका छन् । प्रवक्ता मनिष झाले बैठकअघि नै केन्द्रीय सदस्यहरूको ह्वाट्सएप ग्रुपमा छानबिनको माग गरेका थिए । मनिष स्वयं त्यस दिन नख्खु कारागारमा आगजनी भएको भिडिओमा देखिएपछि विवादमा मुछिएका छन् ।

स्रोतका अनुसार सभापति लामिछाने स्वयं छानबिनका लागि सकारात्मक छन् । भदौ २४ गते नख्खु पुगेका केही नेता भने छानबिनको विपक्षमा रहेको बताइन्छ । यो प्रकरणले पार्टी र सभापतिलाई क्षति पुर्‍याएकोमा रास्वपाभित्र सबैजसो सहमत छन् । बैठकमा पार्टी पुनर्गठनका लागि महाधिवेशनको मिति अघि सार्न वा विस्तारित बैठक आह्वान माग गर्ने तयारीसमेत छ । नेताहरूले तिहारपछि विस्तारित बैठक हुनसक्ने औंल्याएका छन् ।
 

Related Post