काठमाडौं । रास्वपाको केन्द्रीय समिति बैठक बस्ने दिन फेरि पनि प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मुस्ताङतर्फ लागेका छन् । बिहान ११ बजेपछि वनस्थलीस्थित घण्टीघरमा बस्ने बैठकमा दर्जनभन्दा बढी एजेन्डामाथि छलफल हुँदैछ । तर, बैठककै दिन शाह पोखरा हुँदै मुस्ताङतर्फ लागेपछि उनको यात्रालाई लिएर राजनीतिक वृत्तमा कौतुहल बढेको छ ।
अझ रोचक कुरा, प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणबारे सुरक्षा अधिकारीदेखि प्रधानमन्त्रीको सचिवालयसम्म स्पष्ट जानकारी छैन । सचिवालयका एक सदस्यले भ्रमण भएको पुष्टि गरे पनि उद्देश्यबारे जानकारी नभएको र उद्देश्य सार्वजनिक नगर्न निर्देशन दिइएको बताएका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री शाह धादिङस्थित नेपाली सेनाको भैरव गणमा समेत पुगेका छन् । उनी यसअघि पनि रास्वपाका केन्द्रीय समिति तथा अन्य पार्टी बैठकमा न्यून मात्रामा सहभागी हुँदै आएका छन् ।
यता, रास्वपाको बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा–२०८३ अनुमोदन, ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज निर्माण, सांगठनिक व्यवस्थापन तथा मनोनयनलगायत विषयमा छलफल हुँदैछ ।
त्यसैगरी केन्द्रीय समिति सदस्य तथा पदाधिकारी, सचिवालय सदस्य र विभागीय प्रमुखको मनोनयन तथा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन गर्ने विषय पनि बैठकको एजेन्डामा छन् ।
पार्टीको महत्वपूर्ण बैठक चलिरहेका बेला प्रधानमन्त्री शाहको मुस्ताङ यात्रा किन र केका लागि हो भन्ने विषय भने अहिलेसम्म खुलेको छैन ।