काठमाडौं — सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी क्षेत्रीय विकास, पूर्वाधार तथा जनजीविकासँग जोडिएका विभिन्न विषयमा ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै ती उपलब्धिबारे संसद्मार्फत जनतालाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।
भेटका क्रममा गेटा विश्वविद्यालय सञ्चालन, धनगढी–खुटिया–दिपायल फास्ट ट्र्याक, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पश्चिम सेती जलविद्युत् आयोजना, विद्युतीकरण, तटबन्ध निर्माण, सडक दुर्घटना न्यूनीकरण तथा कैलाली–कञ्चनपुरका तराई क्षेत्रमा छाडा चौपाया व्यवस्थापनलगायतका विषय उठाइएको थियो।
त्यसैगरी भन्सार व्यवस्थापन, हुलाकी सडक, आरक्षपीडितका समस्या, किसानका लागि धान खरिद–बिक्री तथा दोधारा–चाँदनी क्षेत्रमा नदी कटान नियन्त्रणका विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्र महता, जगत जोशी र केपी खनाल सहभागी थिए।