काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। कार्यक्रमअन्तर्गत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक पार्टीको केन्द्रीय कार्यालयमा पुगेर नागरिक र पार्टी कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्नेछन्।
रास्वपाका सहमहामन्त्री असिम शाहले आइतबार विज्ञप्ति जारी गर्दै नागरिकका समस्या, गुनासा र सुझावलाई सरकारको नीति तथा कार्यान्वयन तहसम्म पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको बताएका छन्।
कार्यक्रम दुई चरणमा हुनेछ। पहिलो चरणमा साँझ ५ बजेदेखि ६ बजेसम्म मन्त्रीहरूले नागरिकका समस्या, गुनासा र सुझाव सुन्नेछन्। त्यसपछि साँझ ६ बजेदेखि मन्त्री, पार्टीका केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यबीच ‘नेतृत्व संवाद’ हुनेछ।
बैठकमा नागरिकबाट प्राप्त सुझावसहित समसामयिक तथा नीतिगत विषयमा छलफल गरिनेछ। रास्वपाका अनुसार कार्यक्रमले नागरिक, सरकार, संसद् र पार्टी संगठनबीच समन्वय बढाउने तथा मन्त्रीलाई नागरिकप्रति थप जवाफदेही बनाउने उद्देश्य राखेको छ।