रास्वपामा नेताको पलायन तीव्र : नेतृत्वप्रतिको असन्तुष्टि चुलियो

रास्वपामा नेताको पलायन तीव्र : नेतृत्वप्रतिको असन्तुष्टि चुलियो
67

कात्तिक, काठमाडौं । वैकल्पिक राजनीतिको दाबीसहित २०७९ असार ७ गते गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी   ९रास्वपा० भित्र पछिल्लो समय ठूलो अस्थिरता देखिएको छ। पहिलो महाधिवेशन नहुँदै प्रभावशाली नेता तथा संस्थापक सदस्यहरू एकपछि अर्को गर्दै पार्टी छाड्ने क्रम रोकिएको छैन।

सबैभन्दा चर्चित रूपमा पूर्वसचिवालय सदस्य तथा पूर्वमन्त्री सुमना श्रेष्ठ पार्टी परित्याग गर्दै सभापति रवि लामिछानेको नेतृत्वशैलीप्रति कडा आपत्ति जनाइन्। थुनामा रहेकै अवस्थामा पार्टी चलाउने, पुनर्गठनको सुझाव सुनेर नसुन्योजस्तो गर्ने र आफूमाथि ‘मिडिया ट्रायल’ गराएको आरोपसहित उनले राजीनामा दिइन्। डा. अरनिको पाँडे, डा. प्रभात अधिकारी र हरि भट्ट पनि त्यसै क्रममा अलग भए।

यसैबीच रास्वपाका उदीयमान नेता तथा पूर्वप्रमुख सचेतक सन्तोष परियार ले कात्तिक २८ गते पार्टी त्यागे। महाधिवेशन नगरी पार्टी तदर्थमै चलिरहनु, नेतृत्वको एकलवाद, र पार्टीको दिशा अस्पष्ट बन्दै गएको कारण उनी असन्तुष्ट रहेको नजिकका स्रोतको दाबी छ।

यसअघि पनि पार्टीका संस्थापक र अग्रज नेताहरू— गीता रेग्मी, महेश्वर घिमिरे, डा, अतिन्द्र दाहाल, डा. भरतमणि देवकोटा, राजेश तिमिल्सिना लगायतले क्रमशः पार्टी छाडिसकेका छन्। आन्तरिक विवाद, कार्यशैलीप्रतिको असन्तुष्टि र संगठनगत कमजोरी मुख्य कारण बताइँदै आएको छ।

रास्वपाले समानुपातिक सांसद पुनः नदोहोर्‍याउने नीति अघि सारेपछि पनि कतिपय नेतामा असुरक्षा र असन्तुष्टि बढेको बताइन्छ। तर सन्तोष परियारले भने यो व्यवस्था आफैले प्रस्ताव गरेको बताउँदै, समस्याको जड नेतृत्वकै निर्णयशैली रहेको प्रस्ट पारेका छन्।

पार्टीको संरचना लामो समयदेखि तदर्थ अवस्थामा छ। महाधिवेशन पटक–पटक सारिँदै आउँदा संगठन टुटफुट र निराशा बढेको गुनासो नेताहरूको छ। केन्द्रीय सदस्य गणेश कार्की र डा. तोषिमा कार्कीले समेत पार्टी पुनर्गठन र आन्तरिक समस्या समाधानमा नेतृत्व गम्भीर नभएको टिप्पणी गरेका छन्।

वैकल्पिक राजनीति उभ्याउने लक्ष्यसहित अघि बढेको रास्वपा अहिले नेतृत्वप्रतिको असन्तुष्टि, एकल निर्णयशैली र संगठनगत अनिश्चितता का कारण गम्भीर आन्तरिक संकटमा परेको देखिन्छ।

Related Post