काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बुधबार शीतल निवासमा भेटवार्ता भएको छ।
राष्ट्रपति कार्यालयका अनुसार भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सुनसरीमा हालै भएको घटनापछि उत्पन्न परिस्थितिलगायत सामाजिक सद्भाव कायम राख्ने विषयमा छलफल भएको थियो।
सभापति लामिछानेले सुनसरी घटनापछि सामाजिक सद्भाव र शान्ति कायम राख्ने उद्देश्यले विभिन्न राजनीतिक दलबीच भएको सर्वदलीय बैठक, त्यसमा भएका छलफल तथा साझा निष्कर्षबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।
भेटका क्रममा राष्ट्रपति पौडेलले मुलुकमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव जोगाउन सबै राजनीतिक दलले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
राष्ट्रपति सचिवालयका अनुसार भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र संसद्को प्रभावकारी सञ्चालनबारे पनि सामान्य विचार आदानप्रदान भएको थियो।