काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र साहलाई आगामी संयुक्त राष्ट्रसंघको महासभामा तथ्य, प्रमाण र वैज्ञानिक अध्ययनसहित प्रस्तुत हुन सुझाव दिएका छन्।
आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै थापाले प्रधानमन्त्रीको विदेश भ्रमणलाई औपचारिकता र ‘ग्रान्ड शो’मा सीमित नगर्न आग्रह गरे।
उनले भ्रमणको तयारीमा सचिवालयमा मात्र निर्भर नभई विज्ञ, विश्वविद्यालयका अनुसन्धानकर्ता र सम्बन्धित क्षेत्रका विशेषज्ञसँग परामर्श गर्न सुझाव दिए।
थापाले नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका क्षति र समस्यालाई वैज्ञानिक प्रमाणसहित अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने बताए। रसुवाको भोटेकोशी बाढीलाई उदाहरण दिँदै उनले न्यून हरितगृह ग्यास उत्सर्जन गर्ने नेपालले भोगेको क्षतिका आधारमा जलवायु न्याय र अनुदानमा आधारित जलवायु वित्तका लागि कडा लबिङ गर्नुपर्नेमा जोड दिए।
यसअघि प्रधानमन्त्रीहरूले अन्तर्राष्ट्रिय मञ्चमा उठाएका विषय र कोप–२८ का जलवायु न्यायसम्बन्धी पहलहरूको अध्ययन गरी त्यसलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो।
देशभित्र र बाहिर रहेका विज्ञहरूको परामर्शमा तयारी गरेर गए मात्रै नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्ना मुद्दा स्थापित गर्दै ठोस उपलब्धि हासिल गर्न सक्ने थापाले बताए।