काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले असोज २९ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ।
बैंकले ७ वर्ष अवधिको ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ निष्काशन गर्न लागेको हो। प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात् १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ।
सर्वसाधारणका लागि छुट्याइएकोमध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्।
निष्काशन छिटोमा कात्तिक १० र ढिलोमा कात्तिक १२ गते बन्द हुनेछ। ऋणपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ। आवेदन सि–आस्बा तथा ‘मेरो शेयर’मार्फत दिन सकिनेछ।
केयर रेटिङ्ग्स नेपालले बैंकलाई ‘केयरएनपी सिंगल ए प्लस इस्यूअर’ रेटिङ दिएको छ। ऋणपत्रबाट प्राप्त ब्याज प्रत्येक आर्थिक वर्षको अर्धवार्षिक अवधि समाप्त भएपछि कर कट्टी गरी भुक्तानी गरिनेछ।