फिफा विश्वकप २०२६ को राउण्ड अफ ३२ मा सहआयोजक क्यानडा र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने भएको छ।
समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्दै दक्षिण अफ्रिका समूह ‘ए’ को उपविजेता बनेपछि राउण्ड अफ ३२ को यो भिडन्त पक्का भएको हो। विश्वकपको खेलतालिका अनुसार समूह ‘ए’ र समूह ‘बी’ का उपविजेताबीच नकआउट चरणको खेल हुने व्यवस्था छ।
क्यानडा भने समूह ‘बी’ को उपविजेता बन्दै इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरणमा प्रवेश गर्न सफल भएको हो। समूह चरणको अन्तिम खेलमा स्विट्जरल्यान्डसँग २–१ ले पराजित भए पनि क्यानडाले दोस्रो स्थान सुरक्षित गरेको थियो।
यसअघि क्यानडाले पहिलो खेलमा बोस्निया एण्ड हर्जगोभिनासँग १–१ को बराबरी खेलेको थियो भने कतारमाथि ६–० को शानदार जित निकालेको थियो।
पहिलो पटक विश्वकपको सहआयोजक बनेको क्यानडाले घरेलु मैदानमा विश्वकप इतिहासकै पहिलो जित हासिल गर्नुका साथै पहिलो पटक नकआउट चरणमा पुगेर नयाँ इतिहास रचेको छ।
दक्षिण अफ्रिकाले पनि पहिलो पटक समूह चरण पार गर्दै नकआउट यात्रा तय गरेको हो। समूह ‘ए’ मा एक जित, एक बराबरी र एक हारसहित ४ अंक जोड्दै दक्षिण अफ्रिका उपविजेताको रूपमा अघि बढेको थियो।
सन् २०१० मा आफ्नै भूमिमा विश्वकप आयोजना गरेको दक्षिण अफ्रिका १६ वर्षपछि विश्वकपमा फर्कँदै ऐतिहासिक सफलता हासिल गर्न सफल भएको छ।
क्यानडा र दक्षिण अफ्रिकाबीच हुने खेलको विजेताले अन्तिम १६ मा मोरक्को र समूह ‘एफ’ को विजेताबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।