रवि लामिछानेको बयान : ‘म भागेको होइन, निकालिएको हुँ’

04 November, 2025 210 Views
रवि लामिछानेको बयान : ‘म भागेको होइन, निकालिएको हुँ’
210

कात्तिक,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भदौ २४ गते नख्खु कारागारबाट आफू भागेको नभई प्रशासनले नै बाहिर निकालेको बताएका छन्। उनले त्यसरी बाहिर निकालिएको कार्य नियमविपरीत भएको बुझेपछि आफैं फर्किएको दाबी गरेका छन्। 

जेन–जेड आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठन गरिएको आयोगले सोमबार नख्खु कारागारमा गएर लामिछानेसँग भेटवार्ता गरेको थियो। सो अवसरमा उनले आफू जेलभित्र हुँदा सुरक्षाको अवस्था जटिल भएको भन्दै तत्कालीन गृह मन्त्रालय र प्रहरी नेतृत्वले नै आफूलाई बाहिर पठाएको बताए।

“म आफ्नो इच्छाले जेलबाट निस्केको होइन,” लामिछानेको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ, “बाहिर पठाउने निर्णय प्रशासनबाटै आएको थियो। पछि त्यो निर्णय अनुचित ठहरिएपछि म आफैं फर्किएँ, मलाई प्रहरीले समातेको होइन।”

आयोगका प्रवक्ता तथा पूर्व एआईजी विज्ञानराज शर्माले लामिछानेसँग सामान्य कुराकानी मात्र भएको प्रतिक्रिया दिएका छन्। आयोगले लामिछानेलाई जेलबाट बाहिर पठाउने प्रक्रियामा संलग्न व्यक्तिहरूको भूमिका स्पष्ट पार्न सोधपुछ गरिरहेको बताइएको छ। यस प्रकरणमा रविकी पत्नी निकिता लामिछाने, पार्टीका उपसभापति डीपी अर्याललगायत अन्य प्रशासनिक अधिकारीहरू समेत अनुसन्धानको दायरामा पर्ने भएका छन्।
 

Related Post