काठमाडौं । नेता रवीन्द्र मिश्रले भदौ २३ र २४ गतेका घटनाबारे आफ्नो धारणा परिवर्तन गर्दै त्यसलाई ‘विदेशी जासुसी विद्रोह’को संज्ञा दिएका छन्। यसअघि भदौ २३ लाई ‘जेन–जी विद्रोह’ र भदौ २४ लाई त्यसमा भएको ‘घुसपैठ’का रूपमा व्याख्या गर्दै आएका मिश्रले अहिले दुवै दिनका घटनालाई एउटै घटनाक्रमका रूपमा हेर्नुपर्ने बताएका हुन्।
मिश्रका अनुसार अज्ञात अन्तर्राष्ट्रिय जासुसी संस्थाहरूले नेपाली युवाको असन्तोष, पीडा, आक्रोश र अपेक्षालाई उनीहरूकै जानकारीबिनै प्रयोग गरेको दाबी गरेका छन्। उनले यस्तो घटनालाई विश्वकै सफलमध्ये एक ‘जासुसी विद्रोह’ भएको टिप्पणी गरेका छन्।
उनले यस्ता विद्रोहमा सहभागी युवाहरूले आफूहरूले परिवर्तनका लागि कदम चालेको ठाने पनि वास्तविक रूपमा त्यसको पछाडि अर्कै शक्ति सक्रिय हुन सक्ने दाबी गरेका छन्।
मिश्रले भविष्यमा भदौ २३ र २४ का घटनामाथि आधारित हलिउडको जासुसी चलचित्रसमेत बन्न सक्ने अनुमान गरेका छन्। उनले सार्वजनिक गरेको यो धारणा भने उनको व्यक्तिगत राजनीतिक विश्लेषण र दाबीका रूपमा आएको हो।