काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने उद्देश्यले विभिन्न राजनीतिक दलका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह तथा नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापासँग भेटवार्ता गरेका हुन्। यस्तै, उनले विपक्षी दलका नेता भिष्मराज आङदेम्बे र नेपाल कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनसँग पनि मंगलबार छुट्टाछुट्टै छलफल गरेका छन्।
सभामुखको सचिवालयका अनुसार भेटवार्ताका क्रममा प्रतिनिधिसभाको कार्य सञ्चालनलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा विचारविमर्श भएको थियो।
यसअघि मंगलबार नै सभामुख अर्यालले विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि संसद्को कार्यसूची, सञ्चालन र प्रभावकारिताका विषयमा छलफल गरेका थिए।