सहकारी पीडितको साढे ४ करोड बचत फिर्ता, दोस्रो चरणमा २५ हजारसम्म वितरण गरिँदै

09 July, 2026 54 Views
सहकारी पीडितको साढे ४ करोड बचत फिर्ता, दोस्रो चरणमा २५ हजारसम्म वितरण गरिँदै
54
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको 'समस्याग्रस्त सहकारी व्यवस्थापन समिति' ले सहकारी पीडितहरूको ४ करोड ४३ लाख ४८ हजार रुपैयाँ बराबरको बचत फिर्ता तथा मिलान कार्य सम्पन्न गरेको छ। समितिको पछिल्लो प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको वैशाखदेखि असार १५ गतेसम्मको अवधिमा कुल १ हजार ८९१ जना बचतकर्ताले राहत महसुस गरेका छन्।
जसमध्ये १ हजार ७४५ जनालाई २ करोड ६३ लाख ९० हजार रुपैयाँ नगद फिर्ता गरिएको छ भने १४१ जनाको १ करोड ७९ लाख ५७ हजार रुपैयाँ बराबरको बचत मिलान गरिएको छ।सोही अवधिमा १५४ जना ऋणीहरूबाट ४ करोड ३२ लाख ८२ हजार रुपैयाँ ऋण असुली समेत भइसकेको छ। पहिलो चरणमा १० हजार रुपैयाँमुनिको बचत पूर्ण रूपमा फरफारक गरिसकेपछि अब समितिले दोस्रो चरणको बचत फिर्ता कार्य सुरु गर्ने तयारी थालेको छ।
दोस्रो चरणको प्रक्रियामा प्राथमिकतामा परेका साना बचतकर्ताहरूलाई सुरुमा बढीमा २५ हजार रुपैयाँसम्म वा कुल बचतको ५० प्रतिशतसम्म रकम फिर्ता दिने कार्ययोजना बनाइएको छ। समितिका सदस्य सचिवका अनुसार २५ हजारभन्दा कम बचत भएकाहरूलाई एकमुष्ट १२ हजार ५ सय रुपैयाँसम्म दिएर खाता राफसाफ गर्ने तयारी छ।
सरकारले सहकारी पीडितको बचत फिर्ता गर्न स्थापना गरेको 'चक्रीय कोष' (Revolving Fund) मा थप २५ करोड रुपैयाँ निकासा गरिसकेको छ। समितिले बचत रकम फिर्तालाई थप तीव्र बनाउन ठूला ऋणी र सञ्चालकहरूको सम्पत्ति व्यवस्थापन गर्ने, नियन्त्रणमा लिइएका सवारी साधन लिलाम गर्ने तथा सम्पर्कमा नआउने ऋणीहरूलाई कालोसूचीमा राखेर राहदानी रोक्का गर्नेसम्मका कडा कानुनी कदमहरू अगाडि बढाएको छ।

Related Post