माघ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सहरी सरसफाइ र स्वच्छता कायम गर्ने प्रक्रियामा कुनै पनि प्रकारको कमजोरी स्वीकार्य नहुने बताएकी छन्।
महानगरपालिकाभित्र फोहर संकलन, वर्गीकरण तथा ढुवानीको जिम्मेवारी पाएका निजी क्षेत्रका प्रतिनिधिसँगको छलफलमा बोल्दै उनले सहरका सडक, सडक किनारा, ढल प्रणाली, पार्क, गल्ली, चोक तथा घरका ढोकासम्म फोहरका पोका थुप्रिन नहुने स्पष्ट गरे।
डंगोलले तोकिएको समय र विधिअनुसार फोहर संकलन हुनुपर्नेमा जोड दिँदै नियमित सडक बढार्ने कार्य अनिवार्य रहेको उल्लेख गरे। उनका अनुसार सहरी सरसफाइ फोहर उत्पादन गर्ने नागरिकदेखि व्यवस्थापन गर्ने निकायसम्म सबैको साझा जिम्मेवारी हो।
“सहरी सरसफाइमा फोहर उत्पादकदेखि व्यवस्थापकसम्म सबै जिम्मेवार हुनुपर्छ। आफ्नो जिम्मेवारी पूरा नगरी अरूलाई दोष देखाउने प्रवृत्तिलाई निरुत्साहित गर्दै जानुपर्छ,” उनले भने।
उनले सहरी सरसफाइलाई दिगो बनाउन नीतिगत तथा व्यावहारिक सुधार आवश्यक रहेको उल्लेख गर्दै महानगरपालिका यस विषयमा थप कडाइका साथ अगाडि बढ्ने बताए। छलफलमा सहभागी प्रतिनिधिहरूले पनि सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउन आपसी समन्वय र नागरिक सचेतनाको आवश्यकता औँल्याए।