पौष, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भएको राजनीतिक सम्झौताप्रति कडा कटाक्ष गरेका छन्। आइतबार बिहान दुबै नेताबीच लिखित सहमतिपत्रमा हस्ताक्षर भएको सार्वजनिक भएपछि मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उक्त सहकार्यलाई ‘विदेशी हस्तक्षेप संस्थागत गर्ने प्रयास’को संज्ञा दिएका हुन्।
मेयर साम्पाङले बालेन र रवि लामिछानेमाथि सत्ता र कुर्सीका लागि देशलाई विदेशी शक्तिको हातमा सुम्पन तयार भएको गम्भीर आरोप लगाएका छन्। ‘सहकारी काण्डदेखि विभिन्न विवादमा मुछिएका, एमसीसीजस्ता विषयमा तयारी गर्नेहरूसँग मिलेर सत्ता हासिल गर्न खोज्नु भनेको देशलाई विदेशीका हातमा लिलाम गर्नु हो,’ उनले भिडियो सन्देशमा भनेका छन्। उनका अनुसार पछिल्ला दिनमा नेपालमा विदेशी हस्तक्षेप प्रत्यक्ष रूपमा देखिन थालेको छ र उक्त हस्तक्षेपलाई राजनीतिक सम्झौतामार्फत संस्थागत गर्न खोजिएको छ।
मेयर साम्पाङले बालेन शाहमाथि जेन–जी पुस्तालाई आन्दोलनमा उक्साएर अगाडि पठाउने तर संकटको बेला आफू भने लुकेर बस्ने आरोप पनि लगाएका छन्। ‘सयौं मानिस घाइते हुँदा, देश जल्दै गर्दा त्यो व्यक्ति भित्रै लुकेर टुलुटुलु हेरिरहन्छ, बाहिर निस्कने साहस गर्दैन,’ साम्पाङले आरोप लगाए। उनले जेन–जीले सरकारलाई दबाब दिन आह्वान गर्दा समेत बालेन बाहिर ननिस्किएको तर भित्रै बसेर विदेशी शक्तिको सेटिङमा सरकार बनाउने खेल खेलिएको दाबी गरेका छन्। उनका अनुसार त्यसरी बनेको सरकारले जेन–जी आन्दोलनका मूल मागहरू सम्बोधन गर्न सकेको छैन। ‘एक थान चुनावबाहेक जेन–जीका कुनै पनि माग पूरा भएनन्, बरु उल्टै सरकारबाट धरपकड भयो,’ उनले भने। यसै सन्दर्भमा मेयर साम्पाङले हरेक नेपालीले अब गम्भीर प्रश्न सोध्नुपर्ने समय आएको बताएका छन्।
‘जेन–जीलाई किन उक्साइयो? सिंहदरबार किन जलाइयो? यति धेरै मानिस मरेपछि र घाइते भएपछि किन नेतृत्वकर्ता अन्त्येष्टिमा समेत सहभागी भएनन्? विदेशी चलखेल किन यसरी भित्र्याइयो?’ भन्दै उनले एकपछि अर्को प्रश्न उठाएका छन्। देशलाई खरानी बनाएर त्यसैको व्यापार गर्न खोजिएको आरोपसमेत उनले लगाएका छन्। भिडियो सन्देशसँगै मेयर साम्पाङले सामाजिक सञ्जालमा लगातार स्ट्याटस लेख्दै रवि–बालेन सहकार्यलाई विदेशीको चलखेलको परिणाम भनेका छन्। ‘सिंहदरबार जलाउँछु भन्ने र जलाएरै देखाउनेदेखि सावधान! देश सिध्याउने विदेशी दलालहरू सक्रिय छन्,’ उनले एक स्ट्याटसमा लेखेका छन्। अर्को स्टाटसमा उनले जनतासामु जान नसक्ने व्यक्तिले प्रधानमन्त्री बन्ने सपना देख्नु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन्। उल्लेखनीय छ, शनिबार साँझदेखि रातभर चलेको छलफलपछि आइतबार बिहान करिब ४ बजे रवि लामिछाने र बालेन शाहले एक भएर आगामी निर्वाचनमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। सहमतिअनुसार पार्टीको नाम, झण्डा र चुनाव चिह्न रास्वपाकै रहनेछ भने आगामी निर्वाचनमा बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिनेछ। पार्टी नेतृत्व भने रवि लामिछानेकै हातमा रहने उल्लेख छ। यस सम्झौतापछि नेपाली राजनीतिक वृत्तमा तीव्र बहस सुरु भएको छ भने समर्थनसँगै आलोचनात्मक आवाजहरू पनि चर्किंदै गएका छन्।