सुक्खा पहिरोले अवरुद्ध राप्ती राजमार्ग तीन घण्टापछि खुल्यो

05 October, 2026 81 Views
सुक्खा पहिरोले अवरुद्ध राप्ती राजमार्ग तीन घण्टापछि खुल्यो
81

सल्यान । सुक्खा पहिरो खसेर अवरुद्ध भएको राप्ती राजमार्ग करिब तीन घण्टापछि सञ्चालनमा आएको छ।

कपुरकोट गाउँपालिका–चोरखोला क्षेत्रमा सोमबार दिउँसो साढे १२ बजेतिर सडक माथिबाट ढुंगा र माटोसहितको पहिरो खसेपछि राप्ती राजमार्ग अवरुद्ध भएको थियो।

पहिरोका कारण दाङ, सल्यान, रुकुम, रोल्पा तथा नेपालगञ्जतर्फ आवतजावत गर्ने सवारीसाधन सडकमा रोकिएका थिए। सम्बन्धित निकायसँग समन्वय गरी जेसिबी परिचालन गरेर सडकमा खसेका ढुंगा, माटो तथा अन्य अवरोध हटाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार सडक माथिबाट ठूला–ठूला ढुंगा खसेकाले पहिरो हटाउन केही समय लागेको थियो।

वर्षा नभएको अवस्थामा समेत राप्ती राजमार्गका विभिन्न स्थानमा सुक्खा पहिरो खस्ने क्रम देखिएकाले यात्रु तथा यातायात व्यवसायीलाई सडकमा आवतजावत गर्दा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

Related Post