सुकुमबासीलाई जग्गा बाँडेको सरकारी प्रचार स्टन्टबाजी : सांसद भाट

10 August, 2026 29 Views
सुकुमबासीलाई जग्गा बाँडेको सरकारी प्रचार स्टन्टबाजी : सांसद भाट
29

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले सरकारले सुकुमबासीलाई जग्गा वितरण गरेको भन्दै गरिरहेको प्रचारलाई स्टन्टबाजी भनेका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद भाटले रुपन्देहीको रोहिणी गाउँपालिकाको उदाहरण दिँदै सरकारले गाउँ ब्लकको जग्गालाई सुकुमबासीलाई वितरण गरिएको भन्दै प्रचार गरेको आरोप लगाए।

उनका अनुसार रोहिणीमा हालै वितरण गरिएको लालपूर्जा सुकुमबासीलाई नभई लामो समयदेखि गाउँ ब्लक र गाउँ धुरीको जग्गा भोगचलन गर्दै आएका बासिन्दालाई दिइएको हो। त्यहाँ जमिनदारदेखि गरिबसम्म सबैको जग्गा रहेको र लालपूर्जा वितरणको काम दुई वर्ष अघिदेखि नै सुरु भएको उनले बताए।

सांसद भाटले नेपालभर करिब १२ लाख सुकुमबासीले जग्गाका लागि निवेदन दिएको उल्लेख गर्दै वास्तविक सुकुमबासी अझै लालपूर्जाको पर्खाइमा रहेको बताए। ती निवेदन मन्त्रालयमै थन्किएको उनको दाबी छ।

उनले वास्तविक सुकुमबासीको समस्या समाधान नगरी गाउँ ब्लकको जग्गालाई सुकुमबासीको जग्गा भनेर प्रचार गर्नु गलत भएको बताए। रोहिणीमा यसअघि नै ५ सय ७१ जनाले लालपूर्जा पाइसकेको पनि उनले जानकारी दिए।

सरकारले झुटो प्रचार र स्टन्टबाजी बन्द गरेर वास्तविक सुकुमबासीको समस्या समाधानमा ध्यान दिनुपर्ने सांसद भाटको भनाइ छ। उनले सुकुमबासीको समस्या राजनीतिक नारामा सीमित नगरी इमानदार प्रयासबाट समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।

 
 

Related Post