काठमाडौं । सुरक्षण मुद्रण (सेक्युरिटी प्रेस) खरिदमा ७० करोड रुपैयाँ कमिसनको मोलमोलाई भएको आरोपसम्बन्धी उजुरी अझै विस्तृत अनुसन्धानकै क्रममा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा आयोगले उक्त प्रकरणबारे जानकारी दिएको हो। आयोगका निमित्त सचिव पद्मा मैनालीले अख्तियारको कामकारबाहीबारे जानकारी दिने क्रममा सेक्युरिटी प्रेस खरिदसँग जोडिएको ७० करोड कमिसनसम्बन्धी उजुरी विस्तृत अनुसन्धानमा रहेको बताइन्।
यो प्रकरण तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासँग जोडिएको छ। सुरक्षण मुद्रण प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसन मागिएको भनिएको अडियो सार्वजनिक भएपछि बाँस्कोटामाथि प्रश्न उठेको थियो।
२०७६ फागुनमा सार्वजनिक भएको उक्त अडियोमा बाँस्कोटा र सेक्युरिटी प्रेस खरिदका लागि स्वीस कम्पनीका नेपाल एजेन्ट विजयप्रकाश मिश्रबीच खरिद लागत तथा कमिसनबारे कुराकानी भएको दाबी गरिएको थियो। अडियो सार्वजनिक भएपछि बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए।
त्यसपछि उक्त प्रकरणबारे अख्तियारमा उजुरी परेको थियो र आयोगले अनुसन्धान अघि बढाएको जनाएको थियो। २०८० सालमा तत्कालीन प्रमुख आयुक्त प्रेमकुमार राईले समेत प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा सेक्युरिटी प्रेस खरिदसँग सम्बन्धित ७० करोडको टेप प्रकरणमाथि अनुसन्धान भइरहेको जानकारी दिएका थिए।
घटना सार्वजनिक भएको लामो समयपछि पनि प्रकरण विस्तृत अनुसन्धानमै रहेको अख्तियारको पछिल्लो जानकारीले मुद्दाको टुंगो लाग्न अझै बाँकी रहेको देखाएको छ।
आयोगले अनुसन्धानको निष्कर्ष र त्यसका आधारमा हुने आगामी कारबाहीबारे भने बैठकमा थप विवरण सार्वजनिक गरेको छैन।