काठमाडौं । सम्भावित इरानी मिसाइल आक्रमणको खतरा देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीबाट फर्किने क्रममा गोप्य रूपमा विमान परिवर्तन गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
गत महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा ट्रम्प सुरुमा एयर फोर्स वनमा चढेका थिए। तर त्यसपछि उनलाई क्याटरिङ सेवा दिने ट्रकमार्फत विमानको अर्को भागमा लगेर C-32A सेनाको विमानमा सारिएको बताइएको छ।
वासिङ्टन पोस्टका अनुसार विमानमा रहेका पत्रकार र ह्वाइट हाउसका केही कर्मचारीलाई समेत विमान परिवर्तनबारे जानकारी थिएन। अमेरिकी अधिकारीहरूले सीबीएस न्युजलाई इरानबाट विमानमाथि मिसाइल आक्रमण हुन सक्ने विश्वसनीय खतरा पत्ता लागेको बताएका छन्।
तर, ह्वाइट हाउसले ट्रम्पले गोप्य रूपमा विमान परिवर्तन गरेको पुष्टि गरेको छैन। यसअघि ट्रम्पले आफू इरानको मुख्य निशानामा रहेको बताएका थिए।
ट्रम्प टर्की जाँदा कतारले दिएको नयाँ बोइङ ७४७–८ प्रयोग गरेका थिए। फर्किँदा भने पुरानो एयर फोर्स वन प्रयोग गर्ने घोषणा गरेका थिए। रिपोर्टअनुसार, पछि उनलाई उपराष्ट्रपतिले प्रयोग गर्ने C-32A विमानमा सारिएको हो।