96
काठमाडौँ । सङ्खुवासभामा विद्यालय परिसरमै एक शिक्षकको गोली हानी हत्या गरिएको छ । मकालु गाउँपालिका–१, चिर्खाङमा बिहीबार साँझ ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली प्रहारबाट हत्या भएको हो ।
राई कालिका आधारभूत विद्यालयमा शिक्षकका रूपमा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डीएसपी कुमार मैनालीका अनुसार घटनामा भरुवा बन्दुक प्रयोग भएको देखिएको छ ।
सदरमुकामबाट करिब १० घण्टाको दूरीमा रहेको घटनास्थलमा इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली पुगेको छ । डीएसपी मैनाली पनि घटनास्थलतर्फ गएका छन् ।
विद्यालय परिसरमा भेटिएको राईको शव प्रहरीले मुचुल्का उठाएर पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरेको छ ।
घटनामा संलग्न व्यक्तिको पहिचान तथा हत्याको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।