काठमाडौं। नेकपा एमालेले सुनसरीमा भएको घटनाको निष्पक्ष र स्वतन्त्र छानबिनका लागि पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ। साथै, घटनामा चार जनाको ज्यान गएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने पनि एमालेको धारणा छ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले सुनसरी घटनाले देशभर गम्भीर चिन्ता र तनाव सिर्जना गरेको उल्लेख गर्दै सत्यतथ्य सार्वजनिक गर्न न्यायिक छानबिन अपरिहार्य भएको बताए।
उनले घटनामा चार जनाले ज्यान गुमाएको स्मरण गराउँदै त्यसको नैतिक जिम्मेवारीबाट प्रधानमन्त्री र गृहमन्त्री पन्छिन नमिल्ने बताए। घटनाको वास्तविक कारण पत्ता लगाई दोषीलाई कानुनी दायरामा ल्याउन र पीडितले न्याय पाउने वातावरण बनाउन उनले सरकारसँग आग्रह गरे।
सांसद बरालले तत्कालीन समस्या समाधानमा मात्र सीमित नभई भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी दीर्घकालीन उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए। उनका अनुसार निष्पक्ष छानबिन र पारदर्शी अनुसन्धानबाट मात्रै जनविश्वास कायम गर्न सकिन्छ।
उनले ‘घटनाको यथोचित कारण पत्ता लगाएर समस्याको दिगो समाधानतर्फ अघि बढ्नुपर्छ। यही बाटो देशको हितमा हुन्छ,’ भन्दै सरकारले यस विषयमा कुनै हठ वा ढिलाइ नगरी शीघ्र निर्णय लिनुपर्ने बताए।