काठमाडौं। नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज र कप्तानगञ्ज घटनामा सरकारले आफ्ना कमजोरी लुकाउन र जनतालाई भ्रममा पार्न देखावटी छानबिन समिति गठन गरेको आरोप लगाएको छ। घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने माग पनि कांग्रेसले गरेको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले सरकारले घटनापछि संयमता र जवाफदेहिता दुवै गुमाएको आरोप लगाए। उनले सुनसरी घटनाले सरकारी सुरक्षा प्रणाली, सुरक्षा व्यवस्थापन र नीतिगत कमजोरी उजागर गरेको दाबी गर्दै यसबारे निष्पक्ष छानबिन हुनुपर्ने बताए।
चालिसेले सरकार जनताको समस्या समाधानभन्दा सामाजिक सञ्जालमा सीमित भएको आरोप लगाउँदै राज्यको उपस्थिति गोली, लाठी र दमनमा मात्रै देखिन थालेको टिप्पणी गरे। सरकार असंयमित भए पनि जनता संयमित रहेको भन्दै उनले यस्ता घटनालाई सामान्य रूपमा लिन नहुने बताए।
उनले सरकारले गठन गरेको समितिले सत्य तथ्य बाहिर ल्याउन नसक्ने र स्थायी समाधान पनि दिन नसक्ने दाबी गरे। यसअघि भएका यस्तै घटनामा पनि सबै पक्षले स्वीकार गर्ने आयोग नबनाइएकाले सत्य बाहिर आउन नसकेको उल्लेख गर्दै यसपटक स्वतन्त्र र उच्चस्तरीय न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरे।