सुनसरी घटनाप्रति पूर्वराजा ज्ञानेन्द्रको चिन्ता, सामाजिक सद्भाव कायम राख्न आग्रह

30 July, 2026 64 Views
सुनसरी घटनाप्रति पूर्वराजा ज्ञानेन्द्रको चिन्ता, सामाजिक सद्भाव कायम राख्न आग्रह
64

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले सुनसरीका विभिन्न गाउँबस्तीमा भएको आपसी द्वन्द्व र त्यसबाट उत्पन्न अशान्तिप्रति गहिरो चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीलाई आग्रह गरेका छन्।

साउन १४ गते निर्मल निवासस्थित संवाद सचिवालयमार्फत जारी गरिएको सद्भाव सन्देशमा उनले सुनसरीको घटनाबाट जनधनको क्षति भएको र त्यसको प्रभाव कोशी प्रदेश तथा तराईका अन्य जिल्लासम्म फैलिएको खबरले आफू दुःखी भएको उल्लेख गरेका छन्।

पूर्वराजा शाहले नेपाल विभिन्न जातजाति, भाषा र धर्मका समुदायबीचको आपसी सद्भावका कारण विश्वमा परिचित रहेको उल्लेख गर्दै यस्ता अवाञ्छित घटना मुलुकको मौलिक मूल्य र मान्यताविपरीत रहेको बताएका छन्। नेपालको पहिचान बहुजातीय, बहुभाषिक र बहुधार्मिक विविधतामा रहेको भन्दै यसलाई जोगाउनु सबैको साझा दायित्व भएको उनको भनाइ छ।

उनले नेपाल निर्माणको सुरुदेखि नै नेपाली समाज आपसी मेलमिलाप, सहिष्णुता र सद्भावका साथ अघि बढ्दै आएको स्मरण गराउँदै कुनै पनि पक्षबाट यसमा खलल पुग्ने गतिविधि हुन नहुने उल्लेख गरेका छन्।

सन्देशको अन्त्यमा पूर्वराजा शाहले देशका जुनसुकै भूभागमा रहेका नेपालीलाई संयमता अपनाउँदै आपसी एकता, सद्भाव र भाइचारालाई थप मजबुत बनाउन आह्वान गरेका छन्।

Related Post