सरकार लिकबाट बाहिर गए कान समात्ने क्षमता राख्छौँ : रवि लामिछाने

09 August, 2026 18 Views
सरकार लिकबाट बाहिर गए कान समात्ने क्षमता राख्छौँ : रवि लामिछाने
18

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनीतिक दलले सरकारलाई सही बाटोमा ल्याउने क्षमता राख्ने बताएका छन्। उनले सरकार लिकबाट बाहिर गए पुनः लिकमा ल्याउने र जनताको अपेक्षाअनुसार काम गर्न दबाब दिने बताएका हुन्।

नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारण सभामा शनिबार बोल्दै लामिछानेले सरकारको काममा कहिलेकाहीँ समस्या आउन सक्ने भए पनि त्यसलाई लिएर आत्तिनुपर्ने अवस्था नरहेको बताए।

उनले जहाज बादलमा प्रवेश गर्दा टर्बुलेन्स हुने उदाहरण दिँदै राजनीतिक अवस्थामा पनि कहिलेकाहीँ उतारचढाव आउन सक्ने बताए। तर त्यसलाई सरकार दुर्घटनामा पर्न लागेको रूपमा बुझ्न नहुने उनको भनाइ थियो।

लामिछानेले अहिले प्रतिपक्षी दलहरूले सरकारको अवस्थाबारे विभिन्न कुरा गरेर जनतालाई डराउन सक्ने दाबी पनि गरे। राजनीतिक परिवर्तन र परिणाम आउन समय लाग्ने भन्दै उनले अहिले आत्तिनुपर्ने अवस्था नरहेको बताए।

उनले आफूहरू लामो समयसम्म राजनीतिमा रहिरहने उद्देश्यले नभई आफ्नो कार्यकालमा इमानदारीपूर्वक काम गर्न आएको बताए। अहिले जग खन्ने समय भएकाले त्यसको परिणाम तत्काल देखिन नसक्ने उनको भनाइ थियो।

लामिछानेले आफूहरूले कुनै एक व्यक्तिसँग नभई इतिहास र आउने पुस्तासँग प्रतिबद्धता गरेको बताए। त्यसैले आफ्नो वाचा र प्रतिबद्धताबाट पछि हट्ने छुट कसैलाई नभएको उनले बताए।

उनले सरकारले आफ्नो लक्ष्यभन्दा बाहिर जान नहुने भन्दै अहिले सरकार त्यसभन्दा बाहिर नगएको दाबीसमेत गरे।

Related Post