सरकार नागरिकलाई सुरक्षा र सेवा दिन असफल भयो : हर्क साम्पाङ

11 August, 2026 5 Views
सरकार नागरिकलाई सुरक्षा र सेवा दिन असफल भयो : हर्क साम्पाङ
5

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सरकार नागरिकलाई सुरक्षा, न्याय, सेवा सुविधा र अवसर दिन असफल भएको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नागरिकसँगै सांसदहरू पनि सुरक्षित नरहेको बताए।

साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई नैतिक र पदीय जिम्मेवारी पूरा गर्दै संसद्मा उपस्थित हुन आग्रह गरे। आफूहरूले साढे दुई महिनादेखि प्रधानमन्त्रीलाई संसद्मा आउन आग्रह गर्दै आए पनि उनले बेवास्ता गरेको साम्पाङको भनाइ छ।

देशमा आगजनी, तोडफोड, धम्की र धार्मिक विवादका घटना भइरहे पनि सरकारले प्रभावकारी कारबाही गर्न नसकेको उनले आरोप लगाए। नागरिकले सुरक्षित रूपमा यात्रा गर्न सक्ने वातावरण बनाउन उनले सरकारसँग माग गरे।

न्यायको अवस्था पनि कमजोर रहेको भन्दै साम्पाङले आन्दोलनरत नागरिकका समस्या बुझ्न मन्त्री र सम्बन्धित अधिकारीहरू सडकमा पुग्नुपर्ने बताए। मन्त्रालयमा बसेर मात्र देशको अवस्था बुझ्न नसकिने भन्दै उनले जनताको समस्या बुझ्न खेत, कारखाना र आन्दोलनस्थलसम्म पुग्नुपर्ने बताए।

ग्यासका लागि घण्टौँ लाइनमा बस्न बाध्य नागरिकको समस्या पनि सरकारले बुझ्नुपर्ने उनको भनाइ छ। जनताले ठूलो आशा गरेर वर्तमान सरकारलाई मत दिए पनि अपेक्षाअनुसार परिवर्तन हुन नसकेको उनले बताए।

साम्पाङले अहिलेको अवस्थाको मुख्य कारण प्रधानमन्त्रीको लापरवाही, गैरजिम्मेवारी र मन्त्रीहरूसँगको कमजोर समन्वय रहेको आरोप लगाए। सरकारभित्रै असमझदारी रहेको दाबी गर्दै उनले यस्तो अवस्थामा देश सञ्चालन गर्न नसकिने बताए।

 
 
 

Related Post