काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकार पुनर्गठनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अग्रसरता लिन आग्रह गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको कार्यशैली सुधार आवश्यक रहेको बताए। उनले रवि लामिछानेले राजनीतिक नेतृत्वको हैसियतमा प्रधानमन्त्रीसहित सरकार पुनर्गठनको पहल तत्काल गर्नुपर्ने धारणा राखे।
सरकारले आफ्नो कार्यशैली नसुधारे र पुनर्गठनको पहल नभए आन्दोलनको अवस्था सिर्जना हुन सक्ने थापाको चेतावनी छ।
उनले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवाल सम्बोधन नभए विगतका ठूला राजनीतिक आन्दोलनभन्दा पनि व्यापक जनआन्दोलन हुन सक्ने दाबी गरे।
थापाले सरकारलाई तत्काल कार्यशैली सुधार्न र जनताको आवाजलाई सम्बोधन गर्नसमेत आग्रह गरेका छन्।