सर्वोच्चको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा

18 August, 2026 63 Views
सर्वोच्चको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा
63

काठमाडौं । बिभिन्न महिलाहरुको चरित्र हत्या गरेको भन्दै उजुरी परेपछी पक्राउ परेका पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ सर्वोच्च अदालतको आदेशपछि  रिहा भएका छन्। न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो।

रिहाइपछि मंगलबार सामाजिक सञ्जालमार्फत आक्रोशित हुँदै  श्रेष्ठले ‘सत्य मरेको छैन, कलम हारेको छैन’ भन्दै प्रतिक्रिया दिएका छन् ।उनले ढिलो भए पनि भ्रमको पर्दा च्यातिने र अन्ततः सत्यको जित हुने विश्वास व्यक्त गरेका छन्।सर्वोच्चको आदेशमा जनआस्था अनलाइनमा प्रकाशित भएको भनिएको जाहेरवालाको तस्बिर जाहेरवालाले नै आफ्नो फेसबुकमा सार्वजनिक गरेको देखिएको उल्लेख छ। उक्त तथ्यलाई विपक्षीले खण्डन गर्न नसकेको पनि आदेशमा भनिएको छ।

यस्तै, श्रेष्ठ जनआस्था साप्ताहिकका प्रधान सम्पादक भए पनि विवादित तस्बिर प्रकाशित भएको जनआस्था अनलाइनको सम्पादकीय भूमिकामा उनी संलग्न रहेको नदेखिएको सर्वोच्चले उल्लेख गरेको छ।वैयक्तिक गोपनीयता हननको आरोपमा श्रेष्ठलाई गत बुधबार पक्राउ गरिएको थियो। उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

जिल्ला अदालत काठमाडौंले सोमबार नै श्रेष्ठलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो। तर सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि प्रहरीले उनलाई रिहा गरेको हो।
 

Related Post