संसद् बैठककै टुंगो छैन, संसदीय क्यालेन्डरका कामकारबाही प्रभावित

संसद् बैठककै टुंगो छैन, संसदीय क्यालेन्डरका कामकारबाही प्रभावित
70

काठमाडौं । प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएपछि सोमबार र मंगलबारका लागि तय भएका संसदीय कामकारबाही प्रभावित भएका छन् । बैठक कहिले बस्ने टुंगो नहुँदा विधेयकमाथिको छलफल, प्रश्नोत्तर तथा सांसदहरूले उठाउने नियमित विषयसमेत रोकिएका छन् ।

संघीय संसद् सचिवालयले भदौ १० गते सूचना जारी गर्दै प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिएको थियो ।

संसदीय क्यालेन्डरअनुसार सोमबारको बैठक बसेको भए कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने थियो । त्यससँगै शून्य समय सञ्चालन गर्ने र विभिन्न वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूचीसमेत थियो ।

यस्तै, मंगलबारको बैठकमा संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गर्ने कार्यसूची थियो ।

मंगलबारकै कार्यसूचीमा शून्य तथा विशेष समय सञ्चालन गर्नुका साथै मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रम राखिएको थियो ।

बैठक स्थगित भएपछि संसदीय क्यालेन्डर प्रभावित भएको विषयमा छलफल गर्न आज प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सिंहदरबारमा बस्ने बैठकले प्रतिनिधिसभाको आगामी बैठक कहिले बोलाउने भन्ने विषयमा छलफल गर्नेछ ।

क्यालेन्डरअनुसार आगामी बैठकमा बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीसमेत छ । तर, बैठक नै अनिश्चित रहेकाले क्यालेन्डरमा उल्लेख भएका आगामी कार्यक्रम पनि प्रभावित हुने देखिएको छ ।

Related Post