सांसद कर्णको प्रश्न : छोरी जन्मनु र जन्माउनु अपराध हो ?

24 August, 2026 7 Views
सांसद कर्णको प्रश्न : छोरी जन्मनु र जन्माउनु अपराध हो ?
7

काठमाडौँ। नेपाली कांग्रेसकी सांसद नीनु कुमारी कर्णले ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर संसद्मा सरकार र सुरक्षा संयन्त्रप्रति तीव्र असन्तुष्टि व्यक्त गरेकी छन्।

उनले बालिकामाथि हुने यस्ता जघन्य अपराध रोक्न राज्य संयन्त्र असफल भइरहेको भन्दै छोरीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाइन्। ‘के छोरी जन्मनु नै अपराध हो ? छोरी हुनु र उनको शरीर नै यो समाजका लागि पाप हो ?’ भन्दै उनले सरकारसँग जवाफ मागिन्।

सांसद कर्णले छोरीमाथि हुने शारीरिक हिंसा र त्यसले परिवारमा पार्ने पीडा आमाबाहेक अरूले पूर्ण रूपमा बुझ्न नसक्ने बताइन्। गरिमा चौधरीसहित देशभरका बालिका तथा महिलामाथि भइरहेका बलात्कारका घटनामा सुरक्षा निकायको भूमिकाप्रति पनि उनले प्रश्न उठाइन्।

उनले भनिन्, ‘सुरक्षा निकाय किन सचेत हुँदैन ? किन निरीह बनेर बस्छ ? अब हाम्रा छोरीबेटीको सुरक्षाको जिम्मेवारी कसलाई दिने ?’

गरिमा हत्या प्रकरणमा भइरहेको अनुसन्धानप्रति पनि कर्णले असन्तुष्टि जनाइन्। अनुसन्धानको नाममा घटनालाई मिडिया ट्रायल र ‘नौटङ्की’ बनाउने काम भइरहेको आरोप लगाउँदै उनले अपराधीलाई कानुनी कठघरामा ल्याउन राज्य गम्भीर हुनुपर्ने बताइन्।

राज्य र सुरक्षा निकायले दोषीलाई कानुनी कारबाही गर्न नसक्ने हो भने अपराध नियन्त्रणको जिम्मेवारी आमाहरूलाई नै दिनुपर्ने भन्दै उनले सरकारलाई चुनौतीसमेत दिइन्।

Related Post