काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको नेतृत्व र संगठनमाथि सार्वजनिक रूपमा अमर्यादित आरोप लगाउँदै दबाब सिर्जना गरेको भन्दै जेन्जी अभियन्ता अजय सोडारीले आपत्ति जनाएका छन्। प्रेस विज्ञप्ति जारी गर्दै सोडारीले जनप्रतिनिधिजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिबाटै प्रहरी संगठन र नेतृत्वको मानमर्दन गर्ने तथा धम्कीपूर्ण अभिव्यक्ति दिने कार्य निन्दनीय भएको बताएका हुन्।
उनले सांसदको यस्तो व्यवहारलाई ‘सत्ताको आडमा हुने दादागिरी’ को संज्ञा दिएका छन्। प्रहरी नेतृत्वमाथि सार्वजनिक रूपमा लाञ्छना लगाइँदा पनि सरकार र सत्तारुढ दल मौन रहनुले गम्भीर प्रश्न उब्जाएको उनको भनाइ छ।
कुनै पनि विषयको सत्यतथ्य पत्ता लगाउन अनुसन्धानका स्थापित विधि, कानुनी प्रक्रिया र प्रावधान रहेको उल्लेख गर्दै सोडारीले ती प्रक्रियालाई बेवास्ता गरेर सांसद आफैँ अनुसन्धानकर्ता र न्यायाधीशजस्तो बन्नु कानुनी शासन तथा न्याय प्रणालीमाथिको चुनौती भएको बताएका छन्।
सांसद पद शक्ति प्रदर्शन गर्ने वा अरूलाई तर्साउने माध्यम नभई जनताको आवाज उठाउने र राज्यका संस्थाहरूको मर्यादा कायम राख्ने जिम्मेवारी भएको उनले स्मरण गराएका छन्। जनप्रतिनिधिले सार्वजनिक अभिव्यक्ति दिँदा संयम र उत्तरदायित्व देखाउनुपर्नेमा पनि उनले जोड दिएका छन्।
पछिल्लो समय राजनीतिक दबाब र हस्तक्षेपका कारण प्रहरीको व्यावसायिकता, स्वायत्तता तथा कार्यक्षमतामा असर परेको सोडारीको ठहर छ। उनले सांसद सुनारलाई प्रहरी संगठन र नेतृत्वमाथि अमर्यादित भाषा प्रयोग गर्ने तथा दबाब सिर्जना गर्ने गतिविधि तत्काल रोक्न आग्रह गरेका छन्।
साथै, कानुनभन्दा माथि कोही पनि नरहेको उल्लेख गर्दै सोडारीले प्रहरी प्रमुख वा अन्य कुनै अधिकारीबाट गलत कार्य भएको भए स्थापित कानुनी प्रक्रियाअनुसार निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
प्रश्न उठाउने अधिकार भए पनि त्यसका नाममा संस्थाको मानमर्दन गर्ने वा कानुनी प्रक्रियालाई प्रभावित पार्ने छुट कसैलाई नहुने उनको भनाइ छ।