सांसद खगेन्द्र सुनारसँग सम्बन्धित अडियोबारे रास्वपाले थाल्यो छानबिन

13 October, 2026 154 Views
सांसद खगेन्द्र सुनारसँग सम्बन्धित अडियोबारे रास्वपाले थाल्यो छानबिन
154

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद खगेन्द्र सुनारसँग सम्बन्धित फोन संवादको अडियो सार्वजनिक भएपछि त्यसबारे आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै अडियोमा उठेका विषयको सत्यतथ्य पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन गर्न निर्देशन दिइएको जानकारी दिएका छन्।

छानबिन प्रक्रिया पूरा नहुँदासम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ। अनुसन्धान प्रभावित नहोस् र पदीय मर्यादा कायम रहोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको पार्टीले जनाएको छ।

सार्वजनिक भएको भनिएको अडियोमा महिला र सांसद सुनारबीचको संवाद रहेको छ। उक्त संवादमा दुर्व्यवहार, धम्की तथा आर्थिक लेनदेनसँग सम्बन्धित विषय उठेको बताइएको छ। यद्यपि, अडियोमा रहेका विषयको सत्यतथ्य छानबिनपछि स्पष्ट हुने छ।

रास्वपाले आफ्ना सदस्य वा जनप्रतिनिधिसँग सम्बन्धित यस्ता विषयलाई गम्भीर रूपमा लिने जनाएको छ। महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरसँग सम्बन्धित विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको महामन्त्री आचार्यले विज्ञप्तिमा उल्लेख गरेका छन्।

सांसद सुनारसँग सम्बन्धित विषयमा राज्यका अन्य निकायबाट हुने अनुसन्धानमा समेत पार्टीले सहयोग गर्ने आचार्यले बताएका छन्।

Related Post