काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले संसद्को गरिमा र मर्यादा कायम राख्न सांसद तथा उच्च पदाधिकारीका लागि पोसाकसम्बन्धी स्पष्ट आचारसंहिता लागू गर्न माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै पोखरेलले प्रधानमन्त्री र मन्त्रीहरू समेत टिसर्ट लगाएर संसद् बैठकमा सहभागी हुने गरेको भन्दै आपत्ति जनाए। उनले संसद् जस्तो गरिमामय संस्थामा सहभागी हुँदा निश्चित पोसाकको मापदण्ड पालना गर्नुपर्ने बताए।
पोखरेलले सभामुखमार्फत प्रधानमन्त्री र मन्त्रीलाई टिसर्ट लगाएर संसद् भवन प्रवेश गर्न रोक लगाउने गरी आवश्यक रुलिङ गर्न माग गरे। राष्ट्रिय तथा सांस्कृतिक पोसाकलाई प्राथमिकता दिँदै स्पष्ट पोसाक व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।
संसद्मा पोसाकसम्बन्धी अनुशासन कायम गर्ने अभ्यास अन्य देशमा समेत रहेको भन्दै उनले न्युजिल्यान्ड र क्यानडाको उदाहरण दिए। उनका अनुसार सन् २०२१ मा न्युजिल्यान्डका सांसद रबिरि वेटिटीले टाइ लगाउन अस्वीकार गरेपछि संसदीय नियमअनुसार उनलाई सदनबाट बाहिर पठाइएको थियो। त्यस्तै, सन् २०२३ मा क्यानडाको संसद्मा पनि पोसाकसम्बन्धी मापदण्ड कार्यान्वयनका लागि रुलिङ भएको उनले बताए।
पोखरेलले संसद्को लोगो प्रयोगमा पनि एकरूपता कायम गर्नुपर्ने बताए। उनका अनुसार लोगो कोट, हाफकोट र ओभरकोटमा मात्र प्रयोग गर्न दिइनुपर्छ। टिसर्ट, ज्याकेट, सर्ट, कुर्ता, ब्लाउज र सलमा लोगो प्रयोग गर्न रोक लगाउनुपर्ने उनको माग छ।
संसदीय पोसाकसम्बन्धी अनुशासन व्यवस्थित गर्न सभामुखबाट विशेष रुलिङ गर्न माग गर्दै पोखरेलले संसद्को गरिमा, अनुशासन र संस्थागत मर्यादा कायम राख्न गम्भीर हुनुपर्ने बताए।