काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरूको उपस्थिति घट्दै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको हाजिरी विवरण जाँच गरी विश्लेषण गर्ने भएको छ। रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले संसद् सचिवालयबाट हाजिरी विवरण झिकाएर अध्ययन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउन सचेतक प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई जिम्मेवारी दिएका छन्।
बुर्लाकोटीका अनुसार पछिल्लो समय प्रतिनिधिसभाका बैठकमा सांसदहरूको अपेक्षित उपस्थिति देखिएको छैन। बैठक सुरु हुँदा उपस्थित भए पनि बीचमै संसद् छाडेर जाने क्रमसमेत बढ्दै गएको उनले बताएका छन्। यस्तो अवस्थाले संसद्को गरिमा कमजोर हुने देखिएकाले हाजिरी विवरण अध्ययन गर्न लागिएको उनको भनाइ छ।
रास्वपाले असार ३० र ३१ तथा साउन १४, १८ र २२ गते बसेका प्रतिनिधिसभा बैठकको हाजिरी विशेष रूपमा विश्लेषण गर्ने भएको छ।
मुख्य सचेतक बुर्लाकोटीले संसद् सचिवालयबाट ती बैठकको हाजिरी विवरण झिकाएर सांसदहरूको उपस्थिति अध्ययन गर्न सचेतकद्वयलाई निर्देशन दिएका हुन्। उनीहरूले हाजिरीको विवरण विश्लेषण गरी त्यसको प्रतिवेदन ७ दिनभित्र संसदीय दलमा पेस गर्नुपर्नेछ।
बुर्लाकोटीले पछिल्लो समय संसद्मा सांसदहरूको उपस्थिति अपेक्षाकृत कम भएको र बैठकको बीचमै बाहिरिने प्रवृत्ति बढेको भन्दै यसलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्। रास्वपाले हाजिरी विश्लेषणपछि सांसदहरूको उपस्थितिबारे आवश्यक निष्कर्ष निकाल्ने जनाएको छ।