काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गरेका छन्।सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषय, सरकारका कामकारबाही तथा जनसरोकारका मुद्दामा उठाएका प्रश्नको जवाफ नआएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए। सांसदहरूले सदनमा उठेका प्रश्नको सरकारले समयमै जवाफ दिनुपर्ने माग गरेपछि सभामुखले प्रधानमन्त्रीलाई जवाफ दिन निर्देशन दिएका हुन्।
सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम ५६, ५७, ५८ र ५९ मा भएको व्यवस्थाअनुसार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरेका हुन्।बैठकमा सभामुख अर्यालले भने, ‘प्रतिनिधि सभा नियमावलीको नियम ५६, ५७, ५८ र ५९ मा भएको व्यवस्था बमोजिम माननीय सांसदहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिन म प्रधानमन्त्रीज्यूलाई रुलिङ गर्दछु।’
प्रतिनिधि सभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था छ। त्यस्तै, नियम ५७ देखि ५९ सम्म प्रश्नको सूचना, प्रश्नको मर्यादा तथा जवाफ दिने प्रक्रियासम्बन्धी व्यवस्था गरिएको छ।पछिल्लो समय सांसदहरूले सदनमा सरकारको कामकारबाही र विभिन्न समसामयिक विषयमा प्रश्न उठाउँदै आए पनि त्यसको जवाफ प्रभावकारी रूपमा नआएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए।
सभामुखको रुलिङसँगै अब सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री सदनमा उपस्थित हुनुपर्ने भएको छ। यसले प्रतिनिधि सभामा सरकारको जवाफदेहिता र प्रधानमन्त्रीको प्रत्यक्ष उत्तरदायित्वलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।