संसदमा सरकार र प्रतिपक्षबीच भ्रष्टाचार र ‘गुन्डाराज’लाई लिएर आरोप–प्रत्यारोप

18 August, 2026 7 Views
संसदमा सरकार र प्रतिपक्षबीच भ्रष्टाचार र ‘गुन्डाराज’लाई लिएर आरोप–प्रत्यारोप
7

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा रास्वपा र एमालेका सांसदबीच सरकारको कार्यशैली र ‘गुन्डाराज’को विषयलाई लिएर आरोप–प्रत्यारोप भएको छ। बैठकमा रास्वपाकी सांसदले वर्तमान सरकारले भ्रष्टाचार, बेथिति र अनियमितता अन्त्य गर्ने बताउँदै विगत ३५ वर्षको शासनका कारण गत भदौमा जेनजी आन्दोलन भएको दाबी गरिन्।

उनले विगतका सरकारले चलाएको गोलीबाट सिंहदरबार अगाडि ज्यान गुमाएका जेनजी युवाको रगत अझै नसुकेको टिप्पणी गरेपछि विपक्षी सांसदहरू उठेर विरोध जनाएका थिए।

त्यसपछि एमालेकी सांसद साजिदा सिद्दीकीले सरकारमाथि नै ‘गुन्डाराज’ चलाएको आरोप लगाउँदै प्रतिवाद गरिन्। प्रतिपक्षले प्रश्न गर्दा त्यसलाई गुन्डाराज भन्न नमिल्ने भन्दै उनले आपत्ति जनाइन्।

सिद्दीकीले प्रतिपक्ष देश र जनताको पक्षमा उभिएको बताउँदै जेनजी आन्दोलनको कुरा गर्ने सरकारले सिरहामा भएको प्रहरी गोलीकाण्डबारे पनि जवाफ दिनुपर्ने माग गरिन्।

सिद्दीकीको भनाइपछि रास्वपाकी सांसदले पुनः प्रतिवाद गर्दै उनको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरिन्। बैठकमा यही विषयलाई लिएर केही समय आरोप–प्रत्यारोप र विरोध भएको थियो।

Related Post