सुदूरपश्चिम प्रदेशमा तीन महिनापछि बजेट प्रस्तुत

11 October, 2026 90 Views
सुदूरपश्चिम प्रदेशमा तीन महिनापछि बजेट प्रस्तुत
90

काठमाडौँ । लामो समयको राजनीतिक रस्साकस्सी र सत्ता गठबन्धनभित्रको असहमतिपछि सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ।

आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेश सभामा बजेट प्रस्तुत गरिरहेका छन्। आर्थिक वर्ष सुरु भएको झन्डै तीन महिनापछि मात्रै प्रदेश सरकारले बजेट ल्याएको हो।

यसअघि असारमा तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले प्रदेश सभामा बजेट प्रस्तुत गरेको थियो। तर, नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धनमा देखिएको समस्याका कारण उक्त बजेट पारित हुन सकेन।

त्यसपछि एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को गठबन्धनमा साउन २९ गते खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो। नयाँ सरकार बनेपछि पनि गठबन्धनका दल र मन्त्रिपरिषद्का सदस्यबीच बजेटका विषयमा सहमति जुट्न नसक्दा बजेट प्रस्तुत हुन ढिलाइ भएको थियो।

बजेट पारित हुन नसक्दा प्रदेश सरकार लामो समय बजेटविहीन अवस्थामा रहनुपरेको थियो। अहिले आर्थिक वर्ष सुरु भएको झन्डै तीन महिनापछि बजेट प्रदेश सभामा प्रस्तुत गरिएको हो।

 

Related Post