साउनमा ७० हजारभन्दा बढीले लिए वैदेशिक रोजगारीको श्रम स्वीकृति

20 August, 2026 70 Views
साउनमा ७० हजारभन्दा बढीले लिए वैदेशिक रोजगारीको श्रम स्वीकृति
70

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ७० हजार ४४१ जना नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार विदेश जाने नेपालीमध्ये सबैभन्दा धेरैको रोजाइमा संयुक्त अरब इमिरेट्स (यूएई) परेको छ।

साउनमा यूएई जान मात्रै १८ हजार ७८४ जनाले श्रम स्वीकृति लिएका छन्। त्यसपछि मलेसियाका लागि १२ हजार ४९८, कतारका लागि १० हजार ३६०, साउदी अरबका लागि ८ हजार ६१३, कुवेतका लागि ४ हजार ५६७ र रोमानियाका लागि २ हजार ९०८ जनाले श्रम स्वीकृति लिएका छन्।

कुल श्रम स्वीकृति लिनेमध्ये ६० हजार ४७२ जना पुरुष र ९ हजार ९६९ जना महिला रहेका छन्। पुरुषको हिस्सा ८५.८ प्रतिशत र महिलाको १४.२ प्रतिशत रहेको छ।

जिल्लागत रूपमा धनुषाबाट सबैभन्दा धेरै ३ हजार ३६८ जनाले श्रम स्वीकृति लिएका छन्। त्यसपछि झापाबाट ३ हजार १४५, मोरङबाट २ हजार ८३५, सिराहाबाट २ हजार ६४८ र महोत्तरीबाट २ हजार ६२९ जना रहेका छन्।

दक्षताका आधारमा हेर्दा दक्ष श्रमिकको संख्या सबैभन्दा धेरै छ। साउनमा ४० हजार ४९६ जना दक्ष, १७ हजार ९९९ जना अदक्ष र ११ हजार ४६५ जना अर्धदक्ष श्रमिक विदेशिएका छन्। उच्च दक्ष १०३ जना र व्यावसायिक श्रमिक ३७८ जना रहेका छन्।

प्रक्रियागत रूपमा २९ हजार ४४७ जनाले म्यानपावर कम्पनीमार्फत र २७ हजार ७४८ जनाले व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिएका छन्। त्यस्तै, १२ हजार ४४२ जनाले नयाँ व्यक्तिगत श्रम स्वीकृति लिएका छन् भने ७१२ जना सरकार–देखि–सरकार प्रक्रियामार्फत वैदेशिक रोजगारीमा गएका छन्।

खाडी मुलुकबाहेक जापान, ओमान, पोर्चुगल र टर्कीप्रति पनि नेपाली श्रमिकको आकर्षण बढ्दै गएको विभागको तथ्याङ्कले देखाएको छ।

Related Post