काठमाडौँ । जगदम्बा मोटर्सले चिनियाँ हेभी–ड्युटी सवारी उत्पादक स्याकम्यानसँगको सहकार्यमा दुई नयाँ विद्युतीय व्यावसायिक सवारीसाधन नेपाली बजारमा सार्वजनिक गरेको छ ।
कम्पनीले ‘स्याकम्यान X5000e ६×४ इलेक्ट्रिक प्राइम मुभर’ र ‘X5000e ६×४ इलेक्ट्रिक टिपर’ बजारमा ल्याएको हो । प्राइम मुभर लामो दूरीमा भारी सामान ढुवानीका लागि तथा टिपर निर्माण, खानी र अफ–रोड कामका लागि लक्षित गरिएको कम्पनीले जनाएको छ ।
नेपाली बजारमा प्राइम मुभरको मूल्य २ करोड ५ लाख रुपैयाँ र इलेक्ट्रिक टिपरको मूल्य २ करोड ३५ लाख रुपैयाँ तोकिएको छ ।
दुवै मोडलमा ६×४ ड्राइभट्रेन, फास्ट चार्जिङ, रिजेनेरेटिभ ब्रेकिङ र इन्टेलिजेन्ट ब्याट्री व्यवस्थापन प्रणाली जस्ता सुविधा छन् । चालकको सहजताका लागि एयर–सस्पेन्डेड सिट, एयर कन्डिसनिङ, मल्टिफङ्सन स्टेयरिङ र डिजिटल इन्स्ट्रुमेन्ट डिस्प्ले पनि उपलब्ध छन् ।
जगदम्बा मोटर्सका अनुसार नयाँ सवारीसाधनले नेपालको यातायात, निर्माण तथा औद्योगिक क्षेत्रमा विद्युतीय हेभी–ड्युटी सवारीको विकल्प विस्तार गर्नेछ ।