88
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको नियुक्ति प्रक्रिया र कदमप्रति कडा व्यङ्ग्य गर्दै तीव्र आलोचना गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै उनले प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाह नेतृत्वको सरकार को शैलीलाई ‘गजबको तरिका’ को संज्ञा दिएका हुन्।
प्रधानमन्त्री शाहले बुधबार नेपाल सरकारका पूर्वसचिव किशोर थापालाई त्रिवि सेवा आयोगको अध्यक्षमा नियुक्त गरेपछि महासचिव पोखरेलको यो आक्रोशपूर्ण प्रतिक्रिया आएको हो। विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गर्दै विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने र अर्कोतर्फ विगतमा आफूसँगै स्थानीय चुनावमा प्रतिस्पर्धा गरेका व्यक्तिलाई नै राजनीतिक भर्ती गर्नुले सरकारको दोहोरो चरित्र उदाङ्गो पारेको उनले जिकिर गरेका छन्।
महासचिव पोखरेलले विश्वविद्यालयको राजनीतिकरण अन्त्य गर्ने नाममा अध्यादेश ल्याएर पद रिक्त गर्ने र त्यसमा आफ्नै दलको खास मान्छे भर्ती गर्ने कार्यलाई ‘जान्नेलाई छान्ने’ नाराको गजबको रूप भनी टिप्पणी गरेका छन्।
उनले नयाँ भनिएका राजनीतिक शक्तिहरूको यस्तो शैली योग्यता नभएर पाखण्ड, स्वेच्छाचारिता, पक्षपात र भ्रष्टताको संस्थागत रूप भएको आरोप लगाएका छन्। एमाले नेतृत्वले वर्तमान सरकारका यस्ता कदमले सुशासन र कानुनी प्रणालीलाई नै गम्भीर चुनौती दिएको दाबी गर्दै नयाँ दलहरूको असली अनुहार एकपछि अर्को गर्दै जनतासामु छताछुल्ल भइरहेको उल्लेख गरेको छ।