शिक्षा बजेट २ खर्ब १८ अर्ब, ६९% स्थानीय तहमा हस्तान्तरण

18 June, 2026 14 Views
शिक्षा बजेट २ खर्ब १८ अर्ब, ६९% स्थानीय तहमा हस्तान्तरण
14

 शिक्षा तथा खेलकुद क्षेत्रका लागि आगामी आर्थिक वर्ष २०८३/८४ मा सरकारले २ खर्ब १८ अर्ब ३० करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। यो कुल राष्ट्रिय बजेटको १०.२८ प्रतिशत हो।

प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिँदै शिक्षा मन्त्री सस्मित पोखरेलले शिक्षा बजेट अघिल्लो वर्षको तुलनामा ७ अर्ब रुपैयाँले वृद्धि भए पनि अनुपातमा ०.४७ प्रतिशतले घटेको जानकारी दिए।

मन्त्रीका अनुसार शिक्षा बजेटमध्ये ६९.०७ प्रतिशत रकम स्थानीय तहमा र २.१२ प्रतिशत प्रदेश तहमा हस्तान्तरण गरिएको छ। विद्यालय शिक्षाका अधिकांश कार्यक्रम स्थानीय तहबाट कार्यान्वयन हुने भएकाले ठूलो हिस्सा त्यहीँ पठाइएको उनले बताए।

कुल बजेटमध्ये करिब ६८.९८ प्रतिशत रकम तलब र पेन्सनमा खर्च हुने उल्लेख गरिएको छ। विद्यालय शिक्षामा सबैभन्दा बढी ६९.४९ प्रतिशत बजेट छुट्याइएको छ भने उच्च शिक्षामा ११.०४ प्रतिशत विनियोजन गरिएको छ।

विद्यालय भवन निर्माण र भूकम्प प्रभावित क्षेत्र बाहेकका स्थानीय तहमा विद्यार्थी संख्याका आधारमा २७ लाख ५० हजारदेखि ६५ लाख रुपैयाँसम्म बजेट व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

Related Post