काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ नलिने निर्णय गरेका छन्। नैतिक आधारमा उक्त बजेट स्वीकार गर्न नमिल्ने भन्दै उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई औपचारिक रूपमा जानकारी दिएका हुन्।
आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कोइराला निवासको संरक्षणका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको थियो। त्यसपछि डा. कोइरालाले साउन २० गते मन्त्रालयलाई पत्र लेख्दै उक्त बजेट ग्रहण नगर्ने निर्णयबारे जानकारी गराएका हुन्।
मन्त्रालयलाई पठाएको पत्रमा उनले नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा लोकतान्त्रिक आन्दोलनका प्रमुख नेता बीपी कोइरालाको जन्मस्थल संरक्षणका लागि सरकारले बजेट छुट्याएकोमा धन्यवाद दिएका छन्। तर, नैतिक कारणले आफूले उक्त रकम स्वीकार गर्नु उचित नहुने भएकाले बजेट नलिने निर्णय गरेको उल्लेख गरेका छन्।
विराटनगर महानगरपालिका–७ मा रहेको कोइराला निवास करिब एक सय वर्षअघि कृष्णप्रसाद कोइरालाले निर्माण गरेका थिए। ऐतिहासिक र राजनीतिक महत्व बोकेको उक्त भवन जनमत पार्टीको नेतृत्वमा भएको ‘जेनजी आन्दोलन’का क्रममा आगजनीबाट क्षतिग्रस्त भएको थियो।