जनकपुरधाम, २ असार — प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा मधेश प्रदेशका १३६ स्थानीय तहमा सञ्चालित जनस्वास्थ्य प्रयोगशालामा कार्यरत प्रयोगशालाकर्मीहरू तलब तथा सेवा–सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन्।
प्रयोगशालाकर्मीहरूले संयुक्त संघर्ष समिति गठन गरी जनकपुरधामस्थित जनस्वास्थ्य प्रयोगशालामा धर्ना सुरु गरेका हुन्। उनीहरूले लामो समयदेखि तलब र अन्य सेवा–सुविधा नपाएको तथा समस्या समाधानका लागि सम्बन्धित निकायहरूलाई पटक–पटक लिखित र मौखिक रूपमा जानकारी गराउँदा पनि कुनै ठोस पहल नभएको आरोप लगाएका छन्।
आन्दोलनरत प्रयोगशालाकर्मीहरूले कात्तिक महिनादेखिको सम्पूर्ण बाँकी तलब तथा चालु आर्थिक वर्षको अन्त्यसम्मको पारिश्रमिक तत्काल भुक्तानी गर्न माग गरेका छन्। साथै, सेवा सम्झौता अविलम्ब नवीकरण गर्न तथा चाडपर्व, पोशाक, जोखिम र महँगी भत्तालगायतका सुविधा उपलब्ध गराउनुपर्ने माग पनि अघि सारेका छन्।
माग सम्बोधन नभए आन्दोलन थप सशक्त बनाइने चेतावनी दिँदै उनीहरूले आन्दोलनका कारण जनस्वास्थ्य सेवा प्रभावित भए त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने बताएका छन्।
प्रयोगशालाकर्मीहरूको आन्दोलनले प्रदेशभर सञ्चालनमा रहेका जनस्वास्थ्य प्रयोगशालाको सेवा प्रवाह प्रभावित हुने सम्भावना देखिएको छ।