काठमाडौं, भदौ २२ । नुवाकोटस्थित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्पमा बाढीपछि बेपत्ता भएका व्यक्तिका परिवार तथा आफन्तले खोजी तथा उद्धार कार्य तीव्र र प्रभावकारी बनाउन सरकारमाथि दबाब दिएका छन्।
सोमबार माइतीघरमा प्रदर्शन गर्दै उनीहरूले बाढी आएको लामो समय बितिसक्दा पनि आयोजनास्थलमा खोजी तथा उद्धार अभियान अपेक्षित गतिमा अघि बढ्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
प्रदर्शनमा सहभागी सुमन नयाँजूले भौगोलिक कठिनाइलाई मात्र कारण देखाएर उद्धारमा ढिलाइ गर्न नहुने बताए। उपलब्ध स्रोत–साधन, प्रविधि र जनशक्तिको अधिकतम परिचालन गरी खोजी अभियानलाई युद्धस्तरमा अघि बढाउनुपर्ने उनको भनाइ छ।
उनले सुरुआती चरणमै निजी क्षेत्र तथा अन्य सहयोगी पक्षलाई उद्धारमा परिचालन गर्न नसक्दा महत्वपूर्ण समय खेर गएको गुनासो गरे। उनका अनुसार पहिलो दिनदेखि गर्नुपर्ने उद्धार प्रयास एक सातापछि मात्र तीव्र पारिनु गम्भीर ढिलाइ हो।
त्रिशूली–३ ‘बी’को क्याम्प क्षेत्र अझै ठूलो मात्रामा पुरिएको उल्लेख गर्दै उनले खोजी कार्यको प्रगति अत्यन्त न्यून रहेको दाबी गरे।
सरकारलाई दोषारोपण गरेर मात्र बस्नुभन्दा अहिले बेपत्ता व्यक्तिको शीघ्र खोजी र उद्धारलाई सर्वोच्च प्राथमिकता दिनुपर्ने उनले बताए। साथै सुरक्षा निकाय, निजी क्षेत्र र स्थानीय पक्षबीच प्रभावकारी समन्वय कायम गरी उपलब्ध प्रविधि तथा जनशक्तिको अधिकतम प्रयोग गर्न उनले आग्रह गरे।